
सप्तरी । तिहार र छठ पर्व नजिकिँदै जाँदा राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको व्यापार बढेको छ । चाडपर्वमा पूजाआजाका लागि यस्ता सामग्री अनिवार्य रूपमा प्रयोग गरिने भएकाले माग बढेको हो ।
तिहारमा प्रयोग हुने माटोका दियो, कलश र घैला तथा छठ पर्वमा प्रयोग हुने बाँसका कोनिया, नाङ्लो र ढाकीलगायत सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताइन् । ‘बाँसका सामग्री बेच्न थालेको एक दशक भयो । अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुन्छ,’ उनले भनिन् ।
अन्य समयमा दैनिक एक हजार रुपैयाँको हाराहारीमा व्यापार हुने गरेकामा दसैँदेखि तिहारसम्म दोब्बर हुने गरेको उनले बताइन् । विवाह, व्रतबन्ध, मृत्यु संस्कार तथा घरमा गरिने पूजाआजाबाहेक अन्य समयमा माटो र बाँसका सामग्रीको खासै आवश्यकता नपर्ने भएकाले नियमित रूपमा किनमेल नहुने उनको भनाइ छ ।
तर, तिहार र छठ मधेशमा सबैले अनिवार्य रूपमा मनाउने चाड भएकाले यी सामग्री किन्नैपर्ने राजविराज नगरपालिका–२ की ममता झाले बताइन् । मधेशका हरेक चाडपर्व तथा पूजाआजामा माटोका भाँडा र बाँसका सामग्री आवश्यक पर्ने भएकाले यस मौसममा तिनको कारोबार बढ्ने गरेको उनले बताइन् ।
जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक (डोम) समुदायले बनाएका बाँसका सामग्रीले बजार पाउँदा स्थानीय स्तरको लगानी पनि स्थानीय स्तरमै रहने राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताइन् ।
स्थानीयले आफ्नै ठाउँमा माटो र बाँसका सामग्री खरिद–बिक्री गर्नु सकारात्मक पक्ष भएको उनले बताइन् । यस्ता सामग्री किन्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

























