
काठमाडौं । पर्यटन विभागले प्रतिकूल मौसमको पूर्वानुमानलाई मध्यनजर गर्दै पर्यटक, पर्वतारोही तथा पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।
विभागले बुधबार सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुन सक्ने जनाएको छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको सूचनामा उल्लेख छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनका आधारमा जारी सूचनामा प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहणका क्षेत्रसमेत प्रभावित हुन सक्ने जनाइएको छ । त्यसैले उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगिसकेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन पर्यटन विभागले अनुरोध गरेको छ ।
सन् २०२६ को शरद ऋतुका लागि हिमाल आरोहण तथा पदयात्राको अनुमति जारी भइसकेको र धेरै पर्वतारोही, पदयात्री तथा सहयोगी कर्मचारी गन्तव्यमा पुगिसकेको विभागले जनाएको छ ।
विभागले नेपाल सरकार तथा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमानलाई ध्यानमा राखेर आगामी योजना बनाउन पनि सबै सरोकारवालालाई आग्रह गरेको छ ।
यसैगरी, पर्वतारोहण तथा पदयात्राको अनुमति जारी भएका खुम्बु, मनाङलगायत हिमाली क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई सेवा निरन्तर र सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन विभागले अपिल गरेको छ ।
काठमाडौं र पोखरामा उचाइका कारण हुने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा अस्पतालमा समेत अविच्छिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।


























