
विराटनगर । पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसमा विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेपछि शव बोरामा हालेर सिटी सफारीमा ओसार्दै सुनसरीको केसेलिया खोलामा फालेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका गुप्ताको हत्या आरोपमा सोही वडाका ३७ वर्षीय अब्जर मियाँलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको थियो ।
घटनामा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हत्या गरेपछि शव व्यवस्थापन गर्न सहयोग गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । पछि पक्राउ परेका दुवै जना बालक हुन् । उनीहरु करिब १३ वर्षका रहेको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार पक्राउ परेका तीनै जनाको संलग्नता र घटनाक्रमका बारेमा विस्तृत अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले आफ्नो पसलको सामान चोरी गरेको भन्दै मियाँलाई आरोप लगाउँदै आएका थिए । यही विषयलाई लिएर मियाँ गुप्तासँग आक्रोशित बनेका थिए । सोही रिसका कारण उनले गुप्ताको हत्या गर्ने योजना बनाएको एसपी मल्ले बताए ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार शुक्रबार राति मियाँले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए । घरमा पुगेपछि दुवैले मदिरा सेवन गरेको खुलेको छ । त्यसक्रममा मियाँले बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेको र त्यसपछि रडले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेपछि शव लुकाउने र घटनालाई बाहिर आउन नदिने उद्देश्यले बोरामा राखेर ओसारिएको प्रहरी अनुसन्धानले देखाएको छ । शव व्यवस्थापनका लागि सिटी सफारी प्रयोग गरिएको र सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा फालिएको खुलेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान स्थानीयले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै एसपी मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले शवको पहिचान गर्ने क्रममा मृतक विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका गुप्ता भएको पुष्टि गरेको थियो । त्यसपछि घटनामा संलग्न व्यक्तिको खोजी र अनुसन्धानलाई तीव्र बनाइएको थियो ।
भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका थिए । उनी विराटनगरमा एक्लै बस्दै आएको खुलेको छ ।
घटनामा संलग्नको खोजीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली खटिएको थियो । पक्राउ परेका मियाँमाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । दुई जना बालकमाथि भने घटनाको मतियार मानेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बतायो ।



















