
काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा र अत्यावश्यक सेवाको चुस्त सञ्चालनका लागि मातहतका सबै निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखेको छ ।
प्रधानमन्त्री कार्यालयले बिहीबार जारी गरेको सन्देशअनुसार, भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ । यसका कारण अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना भने कायमै रहेको सरकारले जनाएको छ ।
सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन् । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पनि पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक तथा पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन् ।
हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
यसैगरी, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।
सरकारले नागरिकलाई भ्रामक अफवाहको पछि नलाग्न, आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाउन विशेष अपिल गरेको छ ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सरकारले सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ भने सर्वसाधारणलाई समेत सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।

























