
काठमाडौं । विवादित पृष्ठभूमिका इनम सापकोटासँग जोडिएका उच्चपदस्थ व्यक्ति र शक्तिकेन्द्रसँगको सम्बन्धबारे अनुसन्धान गर्न प्रहरीले छुट्टै समिति गठन गरेको छ ।
सापकोटाको मोबाइलको फरेन्सिक परीक्षणका क्रममा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँगको सम्पर्क खुल्दै गएपछि अनुसन्धानलाई थप व्यापक बनाइएको हो । सापकोटामाथि अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति बनाइएको छ ।
समितिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसरको टोलीसँग समन्वय गर्दै रेग्मी नेतृत्वको टोलीले अनुसन्धानलाई सहजीकरण गरिरहेको एक अधिकारीले बताए । सापकोटाको सम्पर्क सञ्जाल र उनीसँग जोडिएका व्यक्तिहरूबारे थप तथ्य पत्ता लगाउन प्रहरी केन्द्रित भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सापकोटाको सम्बन्ध रहेको र अदालतमा सेटिङ गर्ने गरेको सूचनाका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ । अनुसन्धान अघि बढ्दै जाँदा न्यायिक क्षेत्र, प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारी, व्यवसायी, कर्मचारी र सांसदसम्मसँग उनको सम्पर्क रहेको विवरण भेटिन थालेको प्रहरी स्रोतको भनाइ छ ।
सापकोटा दिल्ली जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पक्राउपछि सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिएको थियो । पछिल्लो समय भने उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनको मोबाइलको फरेन्सिक परीक्षणबाट प्राप्त विवरणलाई अनुसन्धानको महत्त्वपूर्ण आधार बनाएको छ । मोबाइलमा रहेका सम्पर्क, संवाद र अन्य डिजिटल विवरणको विश्लेषणबाट सापकोटाको सम्बन्ध सञ्जाल तथा सम्भावित गैरकानुनी गतिविधिबारे थप तथ्य खुल्न सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरूको अपेक्षा छ ।
यद्यपि, सापकोटासँग सम्पर्क देखिएका सबै व्यक्ति कुनै गैरकानुनी गतिविधिमा संलग्न रहेको निष्कर्ष अनुसन्धानबाट पुष्टि भइसकेको छैन । डिजिटल प्रमाण र अन्य तथ्यका आधारमा सम्बन्धित व्यक्तिहरूको भूमिकासमेत छुट्याएर अनुसन्धान अघि बढाउनुपर्ने देखिएको प्रहरी स्रोतले बतायो ।

























