
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित मंसिर महिनाभर देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।
सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ ढुंगले अघि बढाउने, संगठनलाई व्यवस्थित बनाउने र जनताका मुद्दामा प्रत्यक्ष जोडिने योजनासहित अभियान घोषणा गरेका हुन् । पार्टीको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहणपछि बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकमा थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशका साथ देशव्यापी रूपमा जनतामाझ जाने बताएका हुन् ।
उनका अनुसार पार्टीको आगामी कार्यदिशा तय गर्न छिट्टै पूर्ण बैठक बोलाइनेछ । बैठकमा सबैको धारणा सुनेपछि थापाले चार वर्षको क्यालेन्डर बनाएर योजनाबद्ध र अनुशासित रूपमा काम अघि बढ्ने बताए ।
सभापति थापाले प्रतिपक्षको भूमिका सरकारको निगरानीमा केन्द्रित हुनुपर्ने बताए । कानुनको शासन उल्लंघन हुने घटनाविरुद्ध कांग्रेस दृढतापूर्वक उभिने उनको भनाइ थियो ।
उनले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटलाई सक्रिय बनाइने जानकारी पनि दिए । पार्टीका नेता तथा कार्यकर्ताको रुचि एवं क्षमताअनुसार कार्यविभाजन गर्ने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनासहित जिम्मेवारी दिने योजना कांग्रेसको छ ।
थापाले पार्टीका औपचारिक कार्यक्रमको शैलीसमेत बदल्नुपर्ने संकेत गरेका छन् । हलभित्र सोफामा बसेर ताली बजाउने र शुभकामना आदानप्रदानमै सीमित हुने कार्यक्रमको सट्टा सरसफाइ, विपन्नलाई सहयोग तथा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक गतिविधिमा जोड दिन उनले निर्देशन दिएका छन् ।
यसैबीच, कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् । बिहीबार सानेपामा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उनले ‘कांग्रेसभन्दा पहिले देश’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने बताएका हुन् ।
शर्माले आधुनिक, परिवर्तनशील र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको यात्रामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताए । सभापतिले तय गर्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम गर्न तथा निर्धारित समयमा केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन उनले सदस्यहरूलाई आग्रह गरे ।
उनले आफूहरूमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै गलत विषयको खण्डन पनि स्वस्थ र विधिसम्मत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए । परिवर्तनका चुनौती सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढुंगले सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सभापति थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित र प्रभावकारी टिमका रूपमा अघि बढ्ने उल्लेख गर्दै शर्माले पार्टीभित्र जिम्मेवारीबोध, अनुशासन र सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएका छन् । कांग्रेसको नयाँ नेतृत्वले जनतासँगको सम्बन्ध विस्तार, संगठनात्मक सुधार र जिम्मेवार प्रतिपक्षको भूमिका एकसाथ अघि बढाउने संकेत गरेको छ ।



















