
काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले एक बल बाँकी छँदै १८७ रनको लक्ष्य पूरा गर्दै लगातार दोस्रो जित निकालेको हो ।
लगातार दोस्रो जितसँगै कर्णालीले चार अंक जोडेको छ। विराटनगर भने लगातार दोस्रो हार व्यहोरेको छ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा कप्तान सोमपालले बलिङमा ४ विकेट लिनुका साथै ब्याटिङमा अविजित ६२ रन बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
कर्णालीको सुरुवात भने निकै खराब रह्यो । एन्जेलो म्याथ्युजको घातक बलिङसामु कर्णालीले ६.५ ओभरमा ५७ रन जोड्दा पाँच विकेट गुमाएको थियो । अरिफुल इस्लामले १२ बलमा ३२ र दीपक डुम्रेले ११ बलमा २० रन बनाए पनि टोली संकटबाट मुक्त हुन सकेको थिएन ।
त्यसपछि पवन सर्राफ र सोमपालले छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । पवनले २८ बलमा ३६ रन बनाए। पवन आउट भएपछि सोमपाललाई साथ दिएका गुलशन झाले अविजित २८ रन जोडे । उनले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे। सोमपाल र गुलशनबीच सातौँ विकेटका लागि अविजित ६४ रनको निर्णायक साझेदारी भयो।
अन्तिम १२ बलमा जितका लागि २३ रन आवश्यक रहेको अवस्थामा सोमपाल र गुलशनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । सोमपालले २७ बलमै अर्धशतक पूरा गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लोकेश बमले ५२ बलमा ३ चौका र ९ छक्कासहित सर्वाधिक ८७ रन बनाए। एन्जेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे ।
कर्णालीका कप्तान सोमपालले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । विराटनगरका लागि म्याथ्युजले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए भने सन्दीप लामिछाने, चरिथ असालंका र प्रतिश जिसीले एक–एक विकेट लिए ।

























