
धनकुटा । खेती गर्न कठिन चट्टानी जमिन र जङ्गलका बीचमा मौरीपालन गरेर धनकुटाका किसानले आम्दानी लिन थालेका छन् । जिल्लामा मौरीपालन विस्तार हुँदै जाँदा वार्षिक करिब २९ दशमलव ६ मेट्रिक टन मह उत्पादन हुने गरेको छ । मह बिक्रीबाट किसानले करिब चार करोड रुपैयाँ आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ। महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा सहिदभूमि गाउँपालिकामा सबैभन्दा बढी मह उत्पादन हुने गरेको छ ।
धनकुटा नगरपालिका-१ का दुर्गा दर्लामीले २०७५ सालदेखि मौरीपालन गर्दै आएका छन् । पाख्रिबास नगरपालिका–९, मजुवास्थित जङ्गलमा करिब एक सय घार मौरी पालेका उनले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । खेती गर्न कठिन जमिन उपयोग गरेर नियमित आम्दानी गर्न सकेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीबाट फर्किएका शुक्र राईले पनि मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाएका छन् । उनीसँग अहिले दुई सयभन्दा बढी आधुनिक मौरीघार छन् । मौरीपालनसँगै घार उत्पादन उद्योगसमेत सञ्चालन गरेका उनले वार्षिक पाँच सयदेखि सात सयसम्म घार बिक्री गर्दै आएका छन्। मह, मौरी र घार बिक्रीबाट वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको राईले बताए ।
धनकुटाको हावापानी, वनजङ्गल र प्राकृतिक वनस्पति मौरीपालनका लागि अनुकूल मानिन्छन् । खेतीयोग्य जमिन कम भएका तथा चट्टानी भूभागमा समेत मौरीपालन गर्न सकिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए ।
धनकुटामा उत्पादित मह स्थानीय बजारदेखि तराईका सहर र काठमाडौं उपत्यकासम्म बिक्री हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारसम्म पनि मह पुग्ने गरेको केन्द्रले जनाएको छ ।
तर, माथिल्लो क्षेत्रमा तरकारी खेतीमा प्रयोग हुने विषादी मौरीपालनका लागि चुनौती बनेको छ। विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र मह उत्पादनमा असर पार्ने भएकाले सुरक्षित प्रयोग र किसानबीच समन्वय आवश्यक रहेको रानामगरले बताए । कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गरी मौरीपालन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

























