न्यायालय शुद्धीकरणका लागि संसदबाटै कदम चाल्न निर्देशन

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार ०९:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै, न्यायालयभित्र देखिएका विकृति र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा आज केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेको निर्णयअनुसार रास्वपाले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार तथा पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका केही गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको रास्वपाको ठहर छ । उक्त घटनामा गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान तथा छानबिन गरी कडा कारबाही गर्न पार्टीले सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै, कतिपय न्यायाधीशसमेत मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठाएको रास्वपाले जनाएको छ । न्यायालयको शुद्धीकरण र जवाफदेहिताका लागि संसदबाटै निर्णायक कदम चाल्दै विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन संसदीय दललाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

बैठकले मधेस प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने विषयमा पनि निर्णय गरेको छ । सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययनको जिम्मेवारी सचिवालयलाई दिइएको छ । प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसलाई औचित्य र आवश्यकताका आधारमा कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको छ ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै रास्वपाको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको टोली आगामी कार्तिकको अन्तिम साता चीन जाने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिएका छन् । उक्त भ्रमणबाट दुई पार्टीबीचको राजनीतिक संवाद तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने रास्वपाको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.