
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज (सोमबार) दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाजले अपराजित यात्रालाई निरन्तरता दिइरहेको कर्णाली याक्सको सामना गर्नेछ । दोस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा काठमाडौंई कर्णालीको विजयी लय रोक्ने चुनौती छ । प्रतियोगितामा लगातार दुई खेल जित्दै चार अंकसहित कर्णाली अंकतालिकाको शीर्ष स्थानमा छ । काठमाडौं भने पछिल्लो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएपछि दबाबमा छ ।
जनकपुरविरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौंले ११५ रनमै सबै विकेट गुमाएको थियो । सुरुआती ६ ओभरमै तीन विकेट गुमाएर २९ रनको अवस्थामा पुगेको काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाएका थिए । तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा टोली ठूलो योगफल बनाउन असफल भयो ।
जनकपुरका राहुल यादवले ३१ रन खर्चेर चार विकेट लिएका थिए भने सैफ हसनले दुई विकेट हात पारेका थिए । जवाफी ब्याटिङमा जनकपुरका मोइन अलीले ५८ र सैफ हसनले अविजित ४० रन बनाएपछि टोलीले १८ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।
यता कर्णाली भने उत्कृष्ट लयमा देखिएको छ । उसले अघिल्लो खेलमा विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो । उक्त खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले ६ विकेट गुमाएर पूरा गरेको थियो । कर्णालीका लागि अरिफुल इस्लाम ब्याटिङमा प्रभावशाली देखिएका छन् । उनले प्रतियोगितामा अहिलेसम्म ७५ रन बनाएका छन् । बलिङतर्फ सोमपाल कामी पाँच विकेटसहित टोलीका सफल बलर छन् ।
सोमबारको अर्को खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमलाई जितको लयमा फर्कनुपर्ने चुनौती छ ।
तीन खेल खेलेको सुदूरपश्चिमले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएपछि टोलीमाथि थप दबाब परेको छ । वर्षाका कारण पाँच ओभरमा छोट्याइएको उक्त खेलमा विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले प्रतियोगितामा सर्वाधिक ७९ रन बनाएका छन् । बलिङतर्फ अनिल खरेल पाँच विकेटसहित अग्रस्थानमा छन् ।
अर्कोतर्फ चितवन राइनोजले पनि सोमबारको खेललाई अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसरका रूपमा लिएको छ । टोलीले अहिलेसम्म एक खेल जितेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन बनेको छ । चितवनका डेभिड मलानले ७० रन बनाइसकेका छन् भने कमलसिंह ऐरी चार विकेटसहित टोलीका सफल बलर छन् ।
कर्णाली आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहँदा काठमाडौंका लागि पुनरागमनको अवसर हुनेछ । त्यस्तै, सुदूरपश्चिम र चितवनबीचको प्रतिस्पर्धाले अंकतालिकाको समीकरणमा प्रभाव पार्नेछ ।

























