
काठमाडौं । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले संघीय र कर्णाली प्रदेश सरकारबीच तयारी तथा पूर्वाधार व्यवस्थापनका विषयमा छलफल भएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुर्खेतमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग प्रतियोगिताको तयारीबारे छलफल गरेका हुन्।
छलफलमा प्रतियोगिता आयोजना गर्न आवश्यक खेलकुद पूर्वाधारको अवस्था, निर्माण तथा व्यवस्थापन, प्रतियोगिताको सञ्चालन र संघीय तथा प्रदेश सरकारबीचको समन्वयका विषयमा कुराकानी भएको थियो ।
मन्त्री पोखरेलले प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णालीमा खेलकुद पूर्वाधार विकास र व्यवस्थापनका लागि संघीय सरकारबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा जुटेको बताउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
मन्त्री पोखरेल प्रतियोगिताको तयारी, खेलकुद पूर्वाधार निरीक्षण तथा सरोकारवालासँग समन्वय गर्न हाल सुर्खेतमा छन्।

























