एनपीएलमा जनकपुर र पोखरा भिड्दै, दुवै टोली जितको खोजीमा

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार ०६:४९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार (आज) जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। जनकपुरको टोलीमा कप्तान हरमित सिंहसँगै इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साहजस्ता खेलाडी छन् । त्यस्तै, ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि टोलीमा छन्।

यता, पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। पोखराको टोलीमा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षानजस्ता विदेशी खेलाडी छन्। सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल पनि टोलीमा रहेका छन्।

यसैबीच, शनिबार राति भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो।

त्यसअघि टसपछि ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो। विराटनगरले छोटो प्रारूपको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै सुदूरपश्चिममाथि जित निकालेको हो।

शनिबार नै चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुने भनिएको खेल भने वर्षाका कारण रद्द भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.