उदयपुरमा गाँजाको भण्डार : साढे ७ टनभन्दा बढी बरामद

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १८:२०
फाइल फोटो ।

उदयपुर । उदयपुरमा प्रहरीले अवैध गाँजाको ठूलो भण्डार फेला पारेको छ । साढे ७ टनभन्दा बढी गाँजा बरामद भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेलका नगरपालिकाबाट एकैपटक ७ हजार ८ सय २६ किलो ८ सय ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसारपसारमा प्रयोग भएको ट्रकसमेत प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गाँजा बोकेको ट्रक मदन भण्डारी लोकमार्ग भएर आउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रामपुरको टोलीले सडकमा चेकपोइन्ट खडा गरेको थियो । सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीलाई छल्दै अघि बढेको ट्रक नियन्त्रणमा लिन खोजिए पनि कारोबारीहरू भाग्न सफल भए ।

प्रहरीको निगरानीबाट उम्किन खोजेका उनीहरूले ट्रकलाई बेलका नगरपालिका–८ स्थित कोठु खोलामा पुर्‍याएर छाडेका थिए । त्यसपछि नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा खोजतलास गर्दा ट्रकमा लोड गरिएको ठूलो परिमाणको गाँजा फेला पारेको हो ।

उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार बरामद गाँजा प्र १–०२–००२ ख ००२०६ नम्बरको ट्रकमा राखिएको थियो । ट्रक र गाँजा नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन् ।

बरामद गाँजा र ट्रकलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखेर अनुसन्धान अघि बढाइएको एसपी चापागाईंले बताए । फरार चालकको खोजी गर्नुका साथै गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पुर्‍याउने योजना थियो र यसको कारोबारमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

एकैपटक साढे ७ टनभन्दा बढी गाँजा बरामद हुनुले यसमा ठूलो ओसारपसार सञ्जाल संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले भने कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जालको खोजीलाई अनुसन्धानको प्राथमिकतामा राखिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.