सुदूरपश्चिमसँग चितवन पाँच विकेटले पराजित

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार २०:४१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोडेको छ ।

चितवनको भने यो प्रतियोगितामा पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । तीन खेलबाट तीन अंक जोडेको चितवनको हारपछि साविक विजेता लुम्बिनी लायन्स प्रतियोगिताको तेस्रो संस्करणमा अपराजित रहने एक्लो टोली बनेको छ ।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । इशान पाण्डेले २९ बलमा दुई चौकासहित २५ रन जोडे । तीन रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । विनोद ११ रन बनाएर आउट भए । त्यसपछि म्याकमुलेन र इशानले तेस्रो विकेटका लागि ३६ रन जोडे ।

म्याकमुलेन र कप्तान दीपेन्द्रसिंह ऐरी लगातार आउट भएपछि सुदूरपश्चिम ७० रनमा चार विकेटको अवस्थामा पुगेको थियो । त्यसपछि आरिफ शेख र इशानले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । इशान आउट भएपछि आरिफले शेरफेन रदरफोर्डसँग मिलेर टोलीलाई जितसम्म पुर्‍याए । रदरफोर्डले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २१ रन बनाए । आरिफ २६ बलमा २० रन जोड्दै अविजित रहे ।

चितवनका रञ्जित कुमारले चार ओभरमा २८ रन खर्चेर तीन विकेट लिए । रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन जोडे । चौथो नम्बरमा ब्याटिङ गरेका उनले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे । अर्धशतक पूरा गर्न एक रन आवश्यक हुँदा ठूलो सट खेल्ने प्रयासमा उनी आउट भए । २७ रनमै दुई विकेट गुमाएको चितवनका लागि बोपारा र डाविड मलानले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । बोपाराले कप्तान सिकन्दर राजासँग चौथो विकेटका लागि ३२ रन जोडे ।

विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा एक चौका र एक छक्कासहित १७ रन बनाए । मलानले १६ तथा अर्जुन साउद र कप्तान राजाले समान १५ रन जोडे । टम टेलर ६ रनमा अविजित रहे । सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए । हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट हात पारे ।

एनपीएलमा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.