
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा मौसममा उतारचढाव देखिने भएको छ ।
हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ । तराईका जिल्लामा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (बुधबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लाग्ने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।
बिहीबार पनि हिमाली तथा पहाडी क्षेत्रमा मौसम पूर्णरूपमा खुल्ने छैन । कोशी प्रदेशको तराईसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ । बिहीबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।
शुक्रबार र शनिबार पनि हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहने देखिएको छ । शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । शनिबार पनि हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा यस्तै मौसमी गतिविधि हुने सम्भावना छ । दुवै दिन तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
बिहानपख तराई, उपत्यका र खोँचमा लाग्ने हुस्सु तथा कुहिरोले सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्राका क्रममा सतर्कता अपनाउनुपर्ने देखिएको छ ।



















