गिरोहलाई हटाएर सरकार सम्हाल्न आग्रह

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १२:०२

काठमाडौं । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैं लिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गलत समूहको प्रभावमा परेको टिप्पणी गर्दै उनले रविलाई सरकार सम्हाल्न सुझाव दिएका हुन् । खरेलले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारमा बिचौलिया र स्वार्थ समूहको प्रभाव बढ्दै गएको आरोप लगाउँदै राज्यका महत्वपूर्ण संरचनालाई कमजोर बनाउने गतिविधि भइरहेको दाबी गरेका छन् ।

उनको टिप्पणीको निशानामा प्रधानमन्त्री शाहसँगै उनको टिम पनि परेको छ । दुईतिहाइको जनादेश र जेनजी आन्दोलनपछि प्राप्त जनसमर्थनलाई सरकारले सही ढंगले उपयोग गर्न नसकेको खरेलको आरोप छ । जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने समयमा सरकारकै गतिविधिले त्यसको मर्ममाथि प्रहार गरिरहेको उनले बताएका छन् ।

खरेलले कांग्रेस सभापति गगन थापालाई लक्षित गरेर भइरहेको राजनीतिक गतिविधिप्रति पनि आपत्ति जनाएका छन् । सानेपाबाट सरकारलाई प्रश्न उठाएकै आधारमा थापालाई फसाउने प्रयास भइरहेको उनको आरोप छ । प्रतिपक्षले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन पाउनु लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै उनले प्रतिपक्षको आवाज दबाउन खोज्नु निरंकुशताको संकेत भएको बताएका छन् ।

कांग्रेसको आधिकारिकता प्राप्त गर्न थापाले १८ करोड रुपैयाँ खर्च गरेको भन्ने आरोप र सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर भइरहेको प्रचारलाई पनि खरेलले गम्भीर विषय मानेका छन् । यस्ता विवाद सामाजिक सञ्जालको भिड र डिजिटल प्रचारबाट नभई प्रमाण तथा कानुनी प्रक्रियाबाट टुंग्याइनुपर्ने उनको भनाइ छ । खरेलले आफ्नो अभिव्यक्तिको अन्त्यमा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘बालेन, दिस इज नट डन’ भन्दै सरकारको कार्यशैलीप्रति असहमति जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.