
धनगढी । बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
केदारस्युँ गाउँपालिका–७ काँडाचौर जाने क्रममा सु.प.प्र. ०१–००१ च ४३७६ नम्बरको जिप अनियन्त्रित भएर बुधबार बिहान करिब १० बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा स्थानीय २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।
दुर्घटनामा केदारस्युँ–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । केदारस्युँ–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् ।
प्रहरीका अनुसार जिप चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामी रहेका छन् । भित्री सडकखण्डमा गुडिरहेको जिपको ‘ब्रेक फेल’ भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन् । दुर्गम क्षेत्रमा दुर्घटना भएकाले प्रहरी टोलीलाई घटनास्थल पुग्न करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए ।
प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















