
काठमाडौं । स्थानीय तह र प्रदेश सरकारले आफ्ना नागरिकलाई सामूहिक रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउन र नवीकरण गर्न सक्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डले यसका लागि डिजिटल सामूहिक आबद्धता (बल्क इनरोलमेन्ट) तथा नवीकरण सेवा सुरु गरेको हो ।
बोर्डले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत अब स्थानीय तह तथा प्रदेश सरकारले आफ्नै ड्यासबोर्ड प्रयोग गरी नागरिक, लक्षित समुदाय र कर्मचारीको सामूहिक बीमा तथा नवीकरण गर्न सक्नेछन् ।
पहिलो चरणमा मंगलबारदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच दिएर सेवा सुरु गरिएको बोर्डले जनाएको छ । अब यी पालिकाले आफ्ना नागरिकको बीमा अनलाइनबाटै गर्न सक्नेछन् ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार विभिन्न स्थानीय तह तथा प्रदेश सरकारले विपन्न, दलित, कर्मचारी र आफ्नो क्षेत्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने नीति बनाएका छन् । तर, एकैपटक धेरै जनाको बीमा गराउँदा लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो ।
‘सबैभन्दा पहिले वडास्तरमा रहेका दर्ता सहयोगीमार्फत कागजी रूपमा विवरण संकलन गर्नुपर्छ । त्यसपछि जिल्ला कार्यालयमा बुझाउने, भौचर संकलन गर्ने र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्था थियो,’ मल्लले भने, ‘नयाँ प्रणाली प्रयोग गर्दा कागजी फाइल बोकेर कार्यालय धाउनुपर्ने बाध्यता रहँदैन । सम्पूर्ण काम अनलाइनबाटै गर्न सकिन्छ ।’
नयाँ प्रणालीमा पालिकाले लक्षित नागरिकको विवरण संकलन गरी सिधै बोर्डको अनलाइन पोर्टलमा प्रविष्ट गर्न सक्नेछन् । विवरण प्रविष्ट भएपछि प्रणालीबाटै बीमाका डिजिटल कार्ड तयार हुनेछन् ।
त्यस्तै, सरकारको विद्युतीय भुक्तानी प्रणालीमार्फत बीमाको योगदान रकम एकमुष्ट रूपमा बोर्डमा भुक्तानी गर्न सकिनेछ । यसले दर्ता प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै समयसमेत बचत गर्ने बोर्डको विश्वास छ ।
स्थानीय तहसँगै प्रदेश सरकारले पनि आफ्ना मातहतका व्यक्ति तथा समुदायलाई सामूहिक रूपमा बीमामा आबद्ध गराउन सक्नेछन् । यो सेवा लिन इच्छुक प्रदेश तथा स्थानीय तहले बोर्डका सम्बन्धित प्रदेश वा जिल्ला कार्यालयसँग समन्वय गर्न सक्ने मल्लले बताए ।
‘सबैभन्दा पहिले गोकर्णेश्वर नगरपालिकाले चासो देखाएकाले त्यहाँबाट यो प्रणाली सुरु गरिएको हो । अरू स्थानीय तह र प्रदेश पनि यसमा जोडिन सक्नुहुन्छ,’ उनले भने ।
बोर्डले गत २९ साउनदेखि ई–पोर्टल सञ्चालनमा ल्याएर अनलाइनमार्फत सेवा दिन थालेको जनाएको छ । स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण गर्न चाहने परिवारका लागि पनि उक्त पोर्टलबाट अनलाइन सेवा उपलब्ध गराइएको मल्लले बताए ।


























