
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्राधिकरणका निर्देशक प्रभाकरचन्द्र मल्लिकको नेतृत्वमा गठित समितिमा पाइलट र वायुयान इन्जिनियरहरू सहभागी छन् । समितिलाई दुर्घटनाको प्राविधिक अवस्था, उडान सञ्चालन प्रक्रिया र अन्य सम्भावित कारणका बारेमा अध्ययन गरी छिटो प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर फेरिचेमा मंगलबार ठोक्किएका थिए । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय सिफारिस गर्ने उद्देश्यले समितिले छानबिन अघि बढाउने प्राधिकरणले जनाएको छ ।



















