
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णयमा सत्तारुढ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्तक्षेप गरेको स्वीकार सरकारले गरेको छ ।
सरकारले रास्वपाको निर्देशनमा कार्कीलाई हटाइएको स्पष्ट पारेको हो । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पार्टीबाट आएको निर्देशनकै आधारमा कार्कीको जिम्मेवारी हेरफेर गरिएको खुलासा गरेका छन् ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संवेदनशील विषयमा सरकारले हस्तक्षेप गर्नुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको बताए । बदलिँदो परिस्थितिमा विभिन्न पक्षबाट सरकारलाई आवश्यक कदम चाल्न दबाब र सुझाव आइरहेको उनको भनाइ थियो ।
‘संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ पोखरेलले भने । सरकारले कार्कीलाई हटाएर प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । तर, यसलाई कारबाही नभई जिम्मेवारीको फेरबदल मात्र भएको सरकारको दाबी छ ।
मन्त्री पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको जिकिर गर्दै अब उनले प्रधानमन्त्रीलाई सुरक्षा विषयमा सल्लाह र सुझाव दिने बताए । प्रधानमन्त्रीलाई सल्लाह दिने जिम्मेवारी पनि उत्तिकै संवेदनशील हुने उनको भनाइ थियो ।
सरकारको प्रवक्ताबाटै प्रहरी प्रमुखको जिम्मेवारी हेरफेरमा पार्टीको निर्देशन रहेको सार्वजनिक भएपछि प्रहरी नेतृत्वको निर्णयमा राजनीतिक दलको भूमिका र हस्तक्षेपको विषयसमेत चर्चामा आएको छ । कार्कीलाई हटाएर सरकारले उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई ३४ औँ आईजीपी नियुक्त गरेको छ ।

























