मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १५:३६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट चर्चामा आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी नेपाल प्रहरीको नेतृत्वमा पुगेका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै केसीलाई ३४औं प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अपराध अनुसन्धान विभागमा कार्यरत केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुर्‍याउने निर्णय गरेको हो । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । २०८४ साल चैत २७ गतेसम्म कार्यकाल रहेका कार्कीलाई बीचैमा हटाएर सरकारले नयाँ नेतृत्व चयन गरेको हो । कार्कीको कार्यकाल अब करिब डेढ वर्ष बाँकी थियो ।

केसी र कार्की एउटै ब्याचीका प्रहरी अधिकृत हुन् । दुवै जना २०५४ साल चैत २८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवामा प्रवेश गरेका थिए । तर, नेतृत्व चयनका क्रममा सरकारले कार्कीलाई पन्छाउँदै तेस्रो वरीयतामा रहेका केसीलाई आईजीपीको जिम्मेवारी दिएको छ । दोस्रो वरीयतामा रहेका एआईजी राजन अधिकारीलाई समेत पछि पारेर केसीलाई संगठनको नेतृत्व सुम्पिएको हो ।

भुटानी शरणार्थी प्रकरणले चिनाएको नाम

केसीको व्यावसायिक परिचय अपराध अनुसन्धानसँग जोडिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको संगठित ठगी प्रकरणको अनुसन्धानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उक्त प्रकरणको अनुसन्धानले उनलाई राष्ट्रियस्तरमा चर्चित बनाएको थियो ।

रोचक पक्ष के छ भने, उक्त प्रकरणको अनुसन्धानको सुरुआत केसीको नेतृत्वमा भएको थियो भने मुद्दाको फाइल अघि बढाउने जिम्मेवारीमा त्यसबेला दानबहादुर कार्की थिए । अहिले त्यही प्रकरणसँग जोडिएका दुई प्रहरी अधिकृतमध्ये एक संगठनको नेतृत्वबाट बाहिरिएका छन् भने अर्का आईजीपी बनेका छन् ।

सीआईबीमा रहँदा पनि केसीले विभिन्न प्रकृतिका जटिल आर्थिक तथा संगठित अपराधको अनुसन्धान गरेका थिए । पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धार (फेक रेस्क्यु) ठगी, स्मार्ट टेलिकमसँग जोडिएको ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धानमा उनले नेतृत्व गरेका थिए ।

इन्स्पेक्टरदेखि आईजीपीसम्मको यात्रा

२०६६ साल मंसिर २६ गते प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका केसी २०७४ साल साउन १९ गते प्रहरी उपरीक्षक (एसपी) बनेका थिए । २०७९ साउन ३ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), २०८१ भदौ १३ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी) र २०८२ साल वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

एआईजी हुँदा उनी वरीयतामा तेस्रो स्थानमा थिए । पहिलो नम्बरमा दानबहादुर कार्की र दोस्रोमा राजन अधिकारी थिए । वरीयतामा पछाडि रहेका केसीलाई सरकारले आईजीपी बनाएको हो ।

प्रहरी सेवामा उनले विभिन्न महत्त्वपूर्ण विभाग र कार्यालयको नेतृत्व सम्हालेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, विशेष ब्यूरो, प्रहरी एकेडेमी तथा मोरङ र रुपन्देही जिल्ला प्रहरी कार्यालयलगायतका निकायमा काम गरेको अनुभव उनीसँग छ । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा समेत उनले जिम्मेवारी सम्हालेका थिए ।

प्रहरी शिक्षामा पनि योगदान

केसी अनुसन्धान र कमान्डमा मात्रै सीमित छैनन् । नेपाल प्रहरीमा पहिलोपटक सुरु गरिएको स्टाफ कलेजका संस्थापक निर्देशकका रूपमा समेत उनले काम गरेका छन् । प्रहरी एकेडेमीमा कार्यरत रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा योगदान पुर्‍याएका थिए ।

उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन् । सोही विश्वविद्यालयबाट व्यवहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा सुरक्षा अधिकृतका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । फ्रान्सेली र स्पेनी भाषामा समेत दख्खल राख्ने केसीले संगठित अपराध नियन्त्रण र द्वन्द्वपछिको अवस्थासम्बन्धी दुई पुस्तक लेखेका छन् ।

प्रहरीमा नेतृत्व परिवर्तनको पुरानो अभ्यास

प्रहरी महानिरीक्षकलाई कार्यकाल पूरा नहुँदै हटाएर अर्को अधिकृतलाई नेतृत्व दिने अभ्यास नेपाल प्रहरीका लागि नयाँ भने होइन । २०५३ सालमा अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरिएको थियो । त्यसपछि सरकारले ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएको थियो । आफूलाई दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको भन्दै खरेल सर्वोच्च अदालत पुगेका थिए । अदालतबाट मुद्दा जितेपछि उनी पुनः आईजीपी बनेका थिए ।

त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यस्तै, सुडान घोटाला प्रकरणमा विवादमा तानिएका रमेशचन्द ठकुरीलाई पनि सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । उनको ठाउँमा रवीन्द्रप्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

अहिले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेर केसीलाई प्रहरी नेतृत्वमा ल्याइएको छ । अपराध अनुसन्धानमा अनुभव, प्रहरी शिक्षामा योगदान र अन्तर्राष्ट्रिय मिसनको अनुभव बोकेका केसीका लागि अब संगठनको नेतृत्वसँगै प्रहरीको व्यावसायिकता, अनुसन्धानको विश्वसनीयता र संगठनभित्रको अनुशासन कायम राख्ने चुनौती हुनेछ ।

तपाइको प्रतिक्रिया
हेलिकोप्टर दुर्घटना छानबिन गर्न समिति
मोरङमा सहकारीको कोल्ड स्टोरमा तस्करीको माला, सशस्त्रद्वारा बरामद
अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.