
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद्को ४८औँ सभा सम्पन्न भएको छ । सभाले बैठकमा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री एवं प्रतिष्ठानकी सहकुलपति निशा मेहेताको अध्यक्षतामा गत कात्तिक १७ गते मंगलबार काठमाडौंमा सभा बसेको हो ।
सभामा प्रतिष्ठानकी उपकुलपति तथा सदस्यसचिव प्रा. डा. स्मृति कार्कीले समग्र प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । शिक्षाध्यक्ष प्रा. डा. शिवेन्द्र झाले शैक्षिक तथा अनुसन्धानसम्बन्धी, रजिस्ट्रार धरणीधर बरालले आर्थिक तथा प्रशासनिक र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले अस्पताल सेवासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पदाधिकारीका प्रतिवेदनमाथि छलफल भएपछि सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठले जानकारी दिएका छन् ।
सभा समापनका क्रममा सहकुलपति एवं मन्त्री मेहेताले प्रतिष्ठानको सर्वांगीण विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । उनले प्रतिष्ठानको संस्थागत विकासका लागि नेपाल सरकार र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पदाधिकारीलाई विकासका काममा समर्पित भएर लाग्न निर्देशन दिएकी थिइन् ।
उपकुलपति कार्कीले सभामा सहभागी मन्त्री, परिषद्का सदस्य तथा आमन्त्रित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि प्रतिष्ठानको विकासमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन् ।

























