त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै घरघरमा

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार ०८:१९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शैक्षिक प्रमाणपत्र र अन्य कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित विद्यार्थीको घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ । यसका लागि त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले कीर्तिपुरस्थित त्रिवि कार्यालयमा मंगलबार २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यस व्यवस्थाले विद्यार्थीलाई प्रमाणपत्र लिन विश्वविद्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने र समय तथा यातायात खर्च बचत हुने अपेक्षा गरिएको छ । विशेषगरी काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीका लागि यो सेवा बढी प्रभावकारी हुने रजिस्ट्रार शिवाकोटीले बताए । उनले भने, ‘यस व्यवस्थाले विशेषगरी काठमाडौं उपत्यकाबाहिर बस्ने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ । प्रमाणपत्र लिन विश्वविद्यालयसम्म आउनुपर्दा लाग्ने यातायात खर्च, समय र अन्य झन्झट कम हुनेछ ।’

सम्झौताअनुसार कागजात ढुवानी र वितरणलाई सुरक्षित बनाउन ‘पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम’ को प्रयोग गरिनेछ । हुलाकबाट पठाइने कागजात बारकोडसहित प्रणालीमा दर्ता गरिने भएकाले विद्यार्थीले आफ्नो प्रमाणपत्र कहाँ पुग्यो भन्ने कुरा सहजै अनुगमन गर्न सक्नेछन् । सेवा लिनका लागि विद्यार्थीले आफ्नो सही ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ ।

महानिर्देशक भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यबीचको भरपर्दो माध्यम भएको बताउँदै विश्वविद्यालयका कागजात र प्रमाणपत्र सम्बन्धित स्थानमा पुर्याउने जिम्मेवारी हुलाकले पाएको उल्लेख गरिन् ।

सरकारले यसअघि नै राहदानी र सवारीचालक अनुमतिपत्रजस्ता सरकारी कागजात हुलाकमार्फत वितरण गर्ने कार्य अघि बढाइसकेको छ । त्रिविसँगको यो सहकार्यले विश्वविद्यालयको सेवा प्रवाहलाई थप विद्यार्थीमैत्री र छरितो बनाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.