भोजपुरमा फेरी लगाउने परम्परा जोगाउँदै अर्जुन

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार ०९:३२

भोजपुर । परम्परागत फेरी लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण यो पेसाप्रति आकर्षण घट्दै गए पनि उनले आफ्नो पुर्ख्यौली परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आएका छन् । एक महिनामा करिब २० देखि २५ दिनसम्म गाउँबस्ती डुलेर फेरी लगाउने गरेको उनले बताए ।

परम्परागत मान्यताअनुसार फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने विश्वास गरिन्छ । फेरी लगाउने जोगी रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिअनुसार यो कर्म गर्छन् । स्थानीयले यसलाई धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।

फेरी लगाउन घरघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने चलन छ । आफ्नो गच्छेअनुसार सामग्री दिने परम्पराले फेरी लगाउनेको जीविकोपार्जनमा पनि सहयोग पुग्दै आएको छ । यसले गाउँघरमा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिएको छ ।

जोगीका अनुसार याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाएका थिए । अहिले भने यो सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ । पुर्खौँदेखि चलिआएको पेसा जोगाउनुका साथै स्थानीय मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आफूले निरन्तरता दिइरहेको उनले बताए ।

समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै जाँदा फेरी लगाउने चलन पनि सङ्कटमा परेको छ । पहिले गाउँघरमा व्यापक रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धानिरहेका छन् । यसको संरक्षणका लागि नयाँ पुस्तालाई पेसाको महत्त्व बुझाउन आवश्यक रहेको जोगीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.