मोरङमा ट्याक्टरमुनि दुई घण्टाको छटपटी, अन्ततः चालकको मृत्यु

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १९:२१

विराटनगर । मोरङको कटहरीमा ट्याक्टर दुर्घटनामा परेका चालकले दुई घण्टाभन्दा बढी समय मृत्युसँग संघर्ष गर्नु परेको छ ।

गोलिया काठ बोकेको ट्याक्टर पल्टिएपछि त्यसले थिचिएका चालक लामो समयसम्म त्यही ट्याक्टरमुनि छटपटाइरहे । तर, समयमै ट्याक्टर उठाएर उनलाई बाहिर निकाल्न नसक्दा अन्ततः उनको मृत्यु भयो ।

कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना हुँदा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साहको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार थलाहाबाट नयाँ बजारतर्फ जाँदै गरेको को २ त ५७९६ नम्बरको गोलिया काठ लोड गरिएको ट्याक्टर दिउँसो करिब ३ः१० बजेतिर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

सडकमा हिलो जस्तो अवस्था रहेको र नहर कटाउने क्रममा ट्याक्टर पल्टिएको स्थानीयले बताएका छन् । ट्याक्टर पल्टिएपछि चालक साह भाग्न खोज्दा त्यही ट्याक्टरमा लोड गरिएका काठले उनलाई थिचेको प्रत्यक्षदर्शीको भनाइ छ ।

दुर्घटनापछि साह ट्याक्टर र काठको भारमुनि च्यापिए । उनलाई निकाल्न स्थानीय र सुरक्षाकर्मीले लामो समयसम्म प्रयास गरे पनि ट्याक्टरमा लोड गरिएका गोलिया काठ तत्काल पन्छाउन र ट्याक्टर उठाउन सम्भव भएन ।

प्रत्यक्षदर्शीका अनुसार साह दुई घण्टाभन्दा बढी समयसम्म ट्याक्टरमुनि छटपटाइरहेका थिए । घटना प्रत्यक्ष देखेका स्थानीयसमेत लामो समयसम्म उनको उद्धार हुन नसक्दा त्रसित बनेका थिए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी थलाहाबाट असई सञ्जयकुमार चौधरी र प्रहरी चौकी कटहरीबाट सई अशोक कार्कीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । पछि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर बद्री दाहालको कमान्डमा थप टोलीसमेत खटिएको थियो ।

प्रहरी र स्थानीयको प्रयासमा उद्धारको काम जारी रह्यो । अन्ततः साँझ ५ः२० बजेतिर ट्याक्टर र त्यसमा लोड गरिएका काठ पन्छाएर ट्याक्टर उठाउँदा साहको मृत्यु भइसकेको इन्स्पेक्टर न्यौपानेले बताए । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाले एक जनाको ज्यान लिएको छ । तर, दुर्घटनापछि लामो समयसम्म ट्याक्टरमुनि च्यापिएका चालकको उद्धार हुन नसकेको घटनाले दुर्घटनामा तत्काल उद्धारको व्यवस्था र विपद्का बेला उपलब्ध हुनुपर्ने उपकरण तथा जनशक्तिको आवश्यकता खड्किएको देखाउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.