
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले काठमाडौंमा २३ औँ काग सम्मेलन सम्पन्न गरेका छन् । उनले आफ्नै मुखबाट कागको आवाज निकालेर आकाशमा सयौँ काग भेला गराएका हुन्।
राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा शनिबार बिहान काठमाडौंस्थित नारायणहिटी दरबार परिसरमा सम्मेलन आयोजना गरिएको हो।
१७३ प्रजातिका जीवजन्तु तथा चराचुरुंगीको आवाज हुबहु निकाल्न सक्ने दुलालले विगत २३ वर्षदेखि काग तिहारका दिन कागको आवाज निकालेर काग भेला गराउँदै आएका छन्। शनिबार पनि उनले आवाज निकाल्न थालेको केही समयमै वरपरका क्षेत्रबाट सयौँ काग उडेर आएका थिए।
सवारीसाधनको चर्को आवाजका कारण कागलाई बोलाउन कठिन हुने र आवाजसमेत स्पष्ट नसुनिने भएकाले बिहान ५ः३० देखि ६ः३० बजेसम्म मात्रै कार्यक्रम सञ्चालन गरिएको थियो।
राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका दुलालले सम्मेलनको २५ औँ संस्करणलाई विशेष रूपमा मनाउने योजना सुनाए । उनले २५ औँ वर्षगाँठमा ठूलो स्टेज निर्माण गरी भव्य कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताए।
काग सम्मेलनमार्फत नयाँ पुस्ताका नेताहरूले देशलाई छिटो विकासको गतिमा अघि बढाउने आफूले आशा गरेको पनि दुलालले बताए।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकारहरूको सहभागिता रहेको थियो।



















