
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र सहज बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ । पर्वका बेला विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण र वितरण प्रणाली चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको हो ।
विद्युत् आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीबारे छलफल गरिएको थियो ।
त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन् ।
प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्नसमेत भनिएको छ । विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउने निर्देशन पनि दिइएको छ ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट रहने अनुमान छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । उनका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुनेछ ।
पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरिने प्राधिकरणले जनाएको छ । त्यसका लागि एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ । प्रणालीमा आउन सक्ने समस्या समयमै पहिचान गरी समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको प्राधिकरणको भनाइ छ ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।



















