
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले काग तिहार तथा यमपञ्चकको पहिलो दिनका अवसरमा शनिबार शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराको चर्चा गरेका छन् । आधुनिक सञ्चारको विकास हुनुअघि काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिने गरेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले यमपञ्चकका अवसरमा परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको पनि स्मरण गरेका छन् । हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा समेत बुझाएको उनको भनाइ छ । यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वास रहेको उनले उल्लेख गरेका छन् ।
धन्वन्तरी जयन्तीका अवसरमा पनि शुभकामना दिँदै उनले आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गरेका छन् । उनले सबैको निरोगी जीवनको कामना गरेका छन् ।
भोलि पर्ने कुकुर तिहारका अवसरमा कुकुरलाई मानिसको विश्वासिलो र वफादार साथीका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले पुर्याउँदै आएको योगदानको चर्चा गरेका छन् । कुकुरप्रतिको प्रेम र कृतज्ञता व्यक्त गर्ने यस पर्वले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई पनि प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।
सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा पर्वहरूले प्रदान गरून् भन्ने कामना पनि प्रधानमन्त्री शाहले गरेका छन् ।



















