
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परी बेपत्ता भएका २ हजार २९४ नेपाली र १७१ विदेशी नागरिकको विवरण सार्वजनिक गरेको छ । विवरणमा दाबी, थपघट वा संशोधन गर्न प्राधिकरणले सम्बन्धित व्यक्ति तथा परिवारलाई सात दिनको समय दिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले ‘विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ बमोजिम शनिबार सूचना जारी गर्दै विवरण सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार ३२ जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्राप्त विवरणका आधारमा नेपाली बेपत्ताको संख्या यकिन गरिएको हो ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रसुवाका १ हजार ५३८ जना बेपत्ता छन् । त्यस्तै सिन्धुपाल्चोकका २१९, जुम्लाका ६३, कैलाली र सर्लाहीका ५१–५१, बर्दियाका ४४, दाङका ३८, रामेछाप र सिन्धुलीका ३७-३७, काभ्रेपलाञ्चोकका ३५ तथा ललितपुरका १४ जना बेपत्ता सूचीमा छन् । अन्य जिल्लाका नागरिक पनि विवरणमा समेटिएका छन् ।
यसैगरी नेपालस्थित सात विदेशी नियोग तथा दूतावासमार्फत १७१ जना विदेशी नागरिक बेपत्ता रहेको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । तीमध्ये मलेसिया र युक्रेनका ५४-५४, अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका नौ, जर्मनीका आठ र इटालीका दुई जना छन् ।
प्राधिकरणले सार्वजनिक सूचीमा परेका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । यसका लागि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा सम्पर्क गर्न सकिनेछ ।
सार्वजनिक विवरणमा कुनै त्रुटि वा फरक परेमा प्राधिकरणको इमेल र मोबाइल नम्बरमार्फत जानकारी गराउन सकिने सूचनामा उल्लेख छ । त्यसका लागि प्राधिकरणले ९८५१३२०२६९ र ९८४९२८१०९७० नम्बर उपलब्ध गराएको छ ।
विदेशी नागरिकको विवरण सच्याउन वा थप जानकारी लिन भने परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।




















