
विराटनगर । सप्तकोशी नदीमा तीन जनाको ज्यान जाने गरी गत कात्तिक ८ गते भएको पानीबोट दुर्घटनाको छानबिन गर्न गठित समितिले अध्ययन तीव्र पारेको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समितिले घटनास्थलको निरीक्षणदेखि बोटको प्राविधिक अवस्था, सुरक्षा व्यवस्था र उद्धार कार्यसम्मका विषयमा अध्ययन गरिरहेको छ ।
कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आसमान तामाङको नेतृत्वमा गठित १२ सदस्यीय समितिमा धनकुटा, भोजपुर, उदयपुर र सुनसरीका जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका अधिकारी छन् ।
समितिले दुर्घटनाको कारण, बोटको प्राविधिक अवस्था, चालक तथा सञ्चालकको जिम्मेवारी, यात्रुको सुरक्षा व्यवस्था, उद्धार कार्यको प्रभावकारिता र नियमनकारी निकायको भूमिकालगायत विषयमा अध्ययन गरिरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत एवं समितिका सदस्य रामजी पौडेलले जानकारी दिए ।
उनका अनुसार घटनास्थलको जाँच, प्रहरी प्रतिवेदन, दुर्घटनाको वस्तुस्थितिको विश्लेषण, पीडित परिवारको अवस्था तथा राहत र क्षतिपूर्तिका विषय पनि अध्ययनमा समेटिएका छन् । भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन तयार गरिने उनले बताए । समितिको पूरक प्रतिवेदन तिहारपछि सार्वजनिक गर्ने तयारी छ ।
धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले दुर्घटनाको कारण र प्रमाणको तथ्यगत विश्लेषण, जिम्मेवार पक्षको पहिचान तथा सरकारी निकायको भूमिकाको मूल्यांकन भइरहेको बताए । दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत, क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउने विषयमा पानीबोट सञ्चालक कम्पनी, पीडित परिवार र स्थानीय तहबीच छलफल भइरहेको उनले जानकारी दिए ।
यसैबीच, दुर्घटनापछि सप्तकोशी नदीमा पानीबोट सञ्चालनमा पूर्ण रोक लगाइएको छ । धनकुटा, सुनसरी, भोजपुर र उदयपुरका प्रशासनले तत्कालका लागि जलयातायात सञ्चालनमा प्रतिबन्ध लगाएका हुन् । नदीमा पानीको बहाव नघटेको, जलयात्राका लागि आवश्यक न्यूनतम सुरक्षा उपाय नअपनाइएको र बोट सञ्चालनसम्बन्धी कानुनी कार्यविधि नभएकाले प्रतिबन्ध लगाइएको प्रहरी उपरीक्षक रञ्जितकारले बताए ।
गत कात्तिक ८ गते भोजपुरको कोप्चेबाट १५ जना यात्रु लिएर सुनसरीको बराहक्षेत्रस्थित चतराधामतर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट इन्जिन फेल भएपछि त्रिवेणीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै सप्तकोशी नदीमा बेपत्ता छन् ।
बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर तथा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २१ वर्षीया प्रमिला मगर र मनु राई रहेको प्रहरीले जनाएको छ ।

























