
काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिकाका दुई सामुदायिक वनबाट प्रहरीले १४ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। गाउँपालिकाको वडा नं. ५ र ७ स्थित सामुदायिक वनमा लुकाई छिपाइ राखिएका बन्दुक प्रहरीले फेला पारेको हो।
प्रहरीका अनुसार वडा नं. ५ स्थित साजघारी सामुदायिक वनमा बन्दुक लुकाएर राखिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलास गर्दा झाडीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा चार थान साबुत भरुवा बन्दुक र दुई थान बेसाबुत नाल गरी जम्मा छ थान फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बराहताल गाउँपालिका–७ स्थित स्याउलेको पानीडाँडा सामुदायिक वनबाट पनि आठ थान भरुवा बन्दुक बरामद गरिएको छ। उक्त स्थानबाट तीन थान बेसाबुत र पाँच थान साबुत भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै १४ थान बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























