
काठमाडौं । सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार कार्यविधिले सरकारी पूर्वाधार निर्माण, उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसले बिचौलियाबाट हुने ठगी, श्रम शोषण तथा कार्यस्थलमा दुर्घटना हुँदा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखेको छ ।
कार्यविधिमा काम र सीपअनुसार न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । सरकारी निर्माण तथा फिल्डमा काम गर्ने श्रमिकका लागि पाँच श्रेणीमा दैनिक पारिश्रमिक तोकिएको छ ।
श्रेणी १ का आधारभूत सहयोगी (अदक्ष) अर्थात् स्वीपर, कार्यालय सहयोगीलगायतको कुल दैनिक पारिश्रमिक एक हजार ७४० रुपैयाँ तोकिएको छ । यसमध्ये श्रमिकको खातामा एक हजार ४५० रुपैयाँ आउनेछ भने सामाजिक सुरक्षा योगदानबापत सार्वजनिक निकाय र रोजगारदाताले १०-१० प्रतिशतका दरले १४५-१४५ रुपैयाँ थप गर्नेछन् ।
त्यस्तै, श्रेणी २ का आधारभूत कालिगड (अदक्ष) अर्थात् सुरक्षा गार्ड, हलुका चालक र ज्यामीको कुल दैनिक पारिश्रमिक एक हजार ९२० रुपैयाँ हुनेछ । यसमा श्रमिकले प्रत्यक्ष रूपमा एक हजार ६०० रुपैयाँ पाउनेछन् भने सार्वजनिक निकाय र रोजगारदाताले सामाजिक सुरक्षाका लागि १६०-१६० रुपैयाँ योगदान गर्नेछन् ।
श्रेणी ३ का अर्धदक्ष सहयोगी तथा सेवाकर्मीको कुल दैनिक पारिश्रमिक दुई हजार १०० रुपैयाँ तोकिएको छ । यसमध्ये एक हजार ७५० रुपैयाँ श्रमिकको खातामा आउनेछ भने सार्वजनिक निकाय र रोजगारदाताले १७५-१७५ रुपैयाँ सामाजिक सुरक्षा योगदान गर्नेछन् ।
श्रेणी ४ का दक्ष कालिगड तथा सहायक सुपरिवेक्षकका लागि दैनिक दुई हजार २८० रुपैयाँ निर्धारण गरिएको छ । यसमा एक हजार ९०० रुपैयाँ श्रमिकले प्रत्यक्ष पाउनेछन् भने सार्वजनिक निकाय र रोजगारदाताले १९०-१९० रुपैयाँ योगदान गर्नेछन् । श्रेणी ५ का उच्च दक्ष तथा सुपरिवेक्षकको कुल दैनिक पारिश्रमिक दुई हजार ४०० रुपैयाँ हुनेछ । यसमध्ये दुई हजार रुपैयाँ श्रमिकको खातामा आउनेछ भने दुवै पक्षले २००-२०० रुपैयाँ सामाजिक सुरक्षामा योगदान गर्नेछन् ।
कार्यविधिले बौद्धिक तथा व्यावसायिक श्रमिकको पारिश्रमिक पनि निर्धारण गरेको छ । यसअन्तर्गत श्रेणी १ का आधारभूत प्रशासनिक श्रमिकको कुल मासिक रकम ५४ हजार ६०० रुपैयाँ तोकिएको छ । यसमा दैनिक दर एक हजार ७५० रुपैयाँ र सार्वजनिक निकाय तथा रोजगारदाताको १०-१० प्रतिशत योगदानबापत १७५-१७५ रुपैयाँ समावेश छ ।
श्रेणी २ का आधारभूत प्राविधिक श्रमिकको कुल मासिक रकम ७६ हजार ४४० रुपैयाँ हुनेछ । यसका लागि दैनिक दर दुई हजार ४५० रुपैयाँ र दुवै पक्षको १०-१० प्रतिशत योगदानबापत २४५-२४५ रुपैयाँ निर्धारण गरिएको छ । पाँच वर्षसम्मको अनुभव भएका श्रेणी ३ का विशेषज्ञको कुल मासिक रकम एक लाख २० हजार १२० रुपैयाँ तोकिएको छ । यसमा दैनिक दर तीन हजार ८५० रुपैयाँ र सार्वजनिक निकाय तथा रोजगारदाताको ३८५-३८५ रुपैयाँ योगदान समावेश छ ।
पाँचदेखि १० वर्षसम्मको अनुभव भएका श्रेणी ४ का विशेषज्ञ विज्ञको कुल मासिक रकम एक लाख ६३ हजार ८०० रुपैयाँ हुनेछ । यसमा दैनिक दर पाँच हजार २५० रुपैयाँ र दुवै पक्षको ५२५-५२५ रुपैयाँ योगदान रहनेछ ।
१० देखि १५ वर्षसम्मको अनुभव भएका श्रेणी ५ का विशेषज्ञ टिम लिडरको कुल मासिक रकम दुई लाख सात हजार ४८० रुपैयाँ तोकिएको छ । यसमा दैनिक दर छ हजार ६५० रुपैयाँ र दुवै पक्षको ६६५-६६५ रुपैयाँ योगदान समावेश छ । १५ वर्षभन्दा बढी अनुभव भएका श्रेणी ६ का विशेषज्ञ टिम लिडरको कुल मासिक रकम दुई लाख ६२ हजार ८० रुपैयाँ हुनेछ । यसमा दैनिक दर आठ हजार ४०० रुपैयाँ र सार्वजनिक निकाय तथा रोजगारदाताको ८४०-८४० रुपैयाँ योगदान रहनेछ ।
मन्त्रालयका अनुसार उद्योग, कलकारखाना, बिक्रेता वा उत्पादकअन्तर्गत काम गर्ने श्रमिकको न्यूनतम मासिक पारिश्रमिक पनि निर्धारण गरिएको छ । यसमा श्रमिकले पाउने रकम र सामाजिक सुरक्षा योगदानसहितको कुल रकम तोकिएको छ ।
श्रेणी १ का आधारभूत सहयोगी (अदक्ष) अर्थात् स्वीपर र कार्यालय सहयोगीलगायतको कुल मासिक रकम ३२ हजार ६०७ रुपैयाँ हुनेछ । यसमध्ये श्रमिकको खातामा २७ हजार १७२ रुपैयाँ आउनेछ भने सामाजिक सुरक्षा योगदानबापत पाँच हजार ४३५ रुपैयाँ छुट्याइएको छ ।
श्रेणी २ का आधारभूत कालिगड (अदक्ष) अर्थात् सुरक्षा गार्ड, हलुका चालक र ज्यामीको कुल मासिक रकम ३८ हजार ४४८ रुपैयाँ तोकिएको छ । यसमा खातामा आउने रकम ३० हजार ३७३ रुपैयाँ र सामाजिक सुरक्षा योगदान छ हजार ७५ रुपैयाँ हुनेछ ।
श्रेणी ३ का अर्धदक्ष सहयोगी तथा सेवाकर्मीको कुल मासिक रकम ३९ हजार २४२ रुपैयाँ हुनेछ । यसमध्ये श्रमिकले ३२ हजार ७०१ रुपैयाँ पाउनेछन् भने सामाजिक सुरक्षा योगदानबापत छ हजार ४४१ रुपैयाँ छुट्याइएको छ ।
श्रेणी ४ का दक्ष कालिगड तथा सहायक सुपरिवेक्षकको कुल मासिक रकम ४३ हजार ४३१ रुपैयाँ तोकिएको छ । यसमा श्रमिकको खातामा आउने रकम ३६ हजार १९२ रुपैयाँ र सामाजिक सुरक्षा योगदान सात हजार २३९ रुपैयाँ हुनेछ ।
त्यस्तै, श्रेणी ५ का उच्च दक्ष तथा सुपरिवेक्षक अर्थात् फोरम्यान, हेभी अपरेटर, सुपरभाइजर, सब–इन्जिनियर र लेखापाललगायतको कुल मासिक रकम ४५ हजार ८४४ रुपैयाँ निर्धारण गरिएको छ । यसमध्ये श्रमिकको खातामा ३८ हजार २०३ रुपैयाँ आउनेछ भने सामाजिक सुरक्षा योगदानबापत सात हजार ६४१ रुपैयाँ समावेश छ ।



















