लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १२:२३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन आइतबार साँझ अधिकतम विद्युत् माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्न सकिने प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाका दिन मुलुकभर वर्षकै सबैभन्दा बढी विद्युत् माग हुने गरेको छ । यसलाई ध्यानमा राखेर प्राधिकरणले उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब दुई हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । कुल मागभन्दा आन्तरिक उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नहुने र माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त रहने उनले बताएका छन् ।

विद्युत्को माग र आपूर्तिलाई सन्तुलित राख्न तथा सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राधिकरणले २४ सै घण्टा प्राविधिक टोली परिचालन गरेको छ । उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्नुका साथै कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति व्यवस्थापनका लागि उच्चस्तरीय समन्वय र अनुगमनसमेत भइरहेको छ । कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर सम्भावित चुनौती र तिनको व्यवस्थापनबारे छलफल गरिएको छ ।

त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी जनशक्ति परिचालन र प्रणालीको निगरानीमा समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।

आज साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने तयारी छ । प्राधिकरणले प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारलाई पनि तीव्रता दिएको छ । बाँकी रहेका मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न निर्देशन दिइएको छ ।

विद्युत् आपूर्ति अवरुद्ध भएमा उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउन र प्रभावकारी व्यवस्थापन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.