
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकाबाट ६२ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवानगन्जद गाउँपालिका–२ का २२ वर्षीय नित्यानन्द यादव रहेका छन् । प्रहरीका अनुसार आइतबार बिहानका राति १ः४५ बजेतिर देवानगन्ज गाउँपालिका–३ स्थित भित्री सडकमा चेकजाँच गर्ने क्रममा यादवले चलाएको नम्बर प्लेट नभएको मोटरसाइकलबाट ३१ किलो १०० ग्राम गाँजा बरामद भएको थियो ।
त्यसपछि प्रहरीले घटनास्थल आसपास चेकजाँच गर्ने क्रममा सडक छेउको झाडीमा लुकाएर राखिएको अवस्थामा थप ३१ किलो १४० ग्राम गाँजा फेला पारेको थियो । मोटरसाइकल र झाडीबाट गरी ६२ किलो २४० ग्राम गाँजा बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार देवानगन्जबाट कप्तानगन्जतर्फ जाँदै गरेका यादवलाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी खड्काले दिए ।

























