मोरङमा सवा लाख बढीका पटका बरामद, प्रहरीलाई देखेपछि फालेर फरार

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १२:५४

विराटनगर । तिहार भित्रिएसँगै मोरङमा अवैध रूपमा भित्राइएका पटका बरामद हुने क्रम बढेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एकै दिन सवा लाख बढीका पटका बरामद गरेको हो ।

ओसारपसारमा संलग्न भने प्रहरीलाई देखेपछि पटका फालेर फरार भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार १ लाख २३ हजार ८ सय रुपैयाँ बराबरका पटका बरामद गरिएको छ ।

उर्लाबारी र सुनवर्षीका तीन छुट्टाछुट्टै स्थानबाट विभिन्न प्रकारका पटका नियन्त्रणमा लिइएको उनले बताए । उर्लाबारी नगरपालिका–८ अठियाबारीस्थित इटहरा–उर्लाबारी भित्री सडक खण्डमा शनिबार साँझ करिब ५ः५० बजेतिर प्रहरीले एक लाख रुपैयाँ बराबरका पटका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीलाई देखेपछि इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार तीन जना पुरुष बीचमा राखेर ल्याउँदै गरेको प्लास्टिकको बोरा सडकमा फालेर फरार भएका थिए ।

प्रहरीले बोरा खोलेर हेर्दा ‘किङ कोब्रा’ नामक खुर्सानी पटका २८ बण्डल फेला पारेको थियो । प्रत्येक बण्डलमा ५० प्याकेटका दरले जम्मा एक हजार ४०० प्याकेट पटका बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार मोटरसाइकल र त्यसमा सवार व्यक्तिहरूको खोजी भइरहेको छ ।

त्यस्तै, सुनवर्षी नगरपालिका–८ दशगजा क्षेत्रको केराबारीमा लुकाइछिपाइ राखिएको ११ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले शनिबार दिउँसो करिब ३ः१० बजेतिर उक्त पटका फेला पारेको थियो ।

त्यहाँबाट ओलम्पिक टर्च पाँच बक्स, सुप्रिम २४० मल्टिकलर बल एक बक्स, सुप्रिम फ्लावर गार्डेन एक बक्स, सुप्रिम कलर १५ सट्स एक बक्स, ५५५ टाइमिङ बम १० पिस, फूलझरी १० पिस र गोलो चक्र २० पिस बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त पटका कसले लुकाएर राखेको भन्ने खुलेको छैन ।

यसैगरी, शनिबार बिहान ११ः४० बजेतिर सुनवर्षी–८ स्थित ट्रान्समिटर चोकमा भारतबाट नेपालतर्फ टाउकोमा बोकेर अवैध रूपमा ल्याउँदै गरिएको आठ बण्डल ‘किङ कोब्रा’ खुर्सानी पटका प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिक्टीको टोलीलाई देखेपछि पटका बोकेर आउने व्यक्ति सामान त्यहीँ फालेर फरार भएका थिए । बरामद पटका १२ हजार ८०० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका पटका प्रहरीले कार्यालयमा राखेको छ । फरार व्यक्तिहरूको खोजतलास तीव्र पारेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.