कोशी सरकारको लगानीमा खुवालुङ प्रवर्द्धनका लागि पूर्वाधार निर्माण सुरु

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १६:५०

धनकुटा । किरात समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित खुवालुङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकारको करिब साढे २ करोड रुपैयाँ लगानीमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ स्थित खुवालुङ क्षेत्रमा संरचना निर्माण थालिएको हो ।

खुवालुङ क्षेत्रको त्रिवेणीमा गुरुयोजनाअनुसार पहिलो चरणमा कल्चरल माङहिम निर्माण भइरहेको छ । किरात राई यायोक्खासँगको समन्वयमा करिब २५ रोपनी क्षेत्रफलमा विभिन्न संरचना बनाउने योजना रहेको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तम नारायण खरेलले जानकारी दिए ।

परम्परागत शैलीमा निर्माण भइरहेको माङहिममा झिँगटीको छाना, काठका खम्बा र माटोले लिपिएको संरचना रहनेछ । २०८२ चैत १७ गते सम्झौता भएको निर्माण कार्य २०८४ असोज १६ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय र पूर्वाधार विकास कार्यालय धनकुटामार्फत आयोजना कार्यान्वयन भइरहेको छ । टीएम-साइमन जेभीसँग भ्याट र पीएससहित २ करोड ४५ लाख १७ हजार ६ सय ५७ रुपैयाँ १७ पैसामा निर्माण सम्झौता भएको कार्यालयले जनाएको छ ।

खुवालुङ किरात राई, लिम्बू, याक्खा र सुनुवारलगायत समुदायको साझा सांस्कृतिक सम्पदा हो । किरात भाषामा ‘खुवा’ को अर्थ पानी र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ । सप्तकोशी नदीको बीचमा रहेको विशाल ढुंगालाई खुवालुङ भनिन्छ । यसलाई किरात समुदायको इतिहास, मुन्धुमी ज्ञान, परम्परा र सभ्यतासँग जोडेर हेरिन्छ ।

२०७७ सालमा सप्तकोशीमा जलयातायात सञ्चालनका लागि खुवालुङ ढुंगा फुटाउने विषय सार्वजनिक भएपछि यसको संरक्षणको माग गर्दै विरोध भएको थियो । त्यसपछि खुवालुङलाई धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने माग उठ्दै आएको छ ।

गुरुयोजनाअनुसार निर्माण हुने संरचनाले खुवालुङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नुका साथै धार्मिक गतिविधि सञ्चालन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.