
इलाम । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा सूर्योदय सामाजिक प्रतिष्ठान फिक्कल, इलामको आयोजनामा आइतबार विशेष कार्यक्रम गरिएको छ ।
कृष्णप्रसाद सुवेदीको अध्यक्षता तथा कार्यवाहक नगरप्रमुख दुर्गा बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीले नेपाली साहित्यमा देवकोटाले पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरूले देवकोटाका साहित्यिक कृतिले नेपाली भाषा, साहित्य र समाजमा पारेको प्रभावबारे धारणा राखेका थिए ।
नेपाली साहित्यका स्वच्छन्दतावादी धाराका प्रमुख प्रतिभा देवकोटाले कविता, निबन्ध, नाटक र महाकाव्यलगायत विधामा कलम चलाएका थिए । ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘पागल’ जस्ता चर्चित कृतिमार्फत उनले नेपाली साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन् । उनका रचनामा मानवीय संवेदना, प्रकृतिप्रेम, सामाजिक यथार्थ र जीवनदर्शनका विविध पक्ष अभिव्यक्त भएका छन् ।
कार्यक्रममा देवकोटाको साहित्यिक योगदानलाई नयाँ पुस्तामाझ चिनाउन र उनका कृतिको अध्ययन तथा पठन संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको थियो ।

























