
डोल्पा । जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई कैदी पक्राउ परेका छन् । उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ को रंग गाउँभन्दा माथिको जंगलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक छन् । लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । योसँगै गत कात्तिक १४ गते दुनैस्थित जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये पक्राउ पर्नेको संख्या छ पुगेको छ । अझै दुई जना फरार छन् ।
यसअघि त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँबाटै त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए ।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन् । उनीहरूलाई गत मंगलबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोलीबगरबाट वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
अझै फरार रहेका दुई जनामा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी छन् ।

























