
तिहारमा देउसी–भैलो खेल्ने परम्परा पछिल्लो समय मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गइरहेका बेला विराटनगरका पत्रकारहरूले भने संस्कार, संस्कृति र मौलिक लोकपरम्पराको संरक्षणलाई समेत प्राथमिकतामा राखेर सामूहिक देउसी खेलेका छन् ।
पत्रकारहरूको देउसीमा यसपटक अरुण उपत्यकाको मौलिक लोकभाकाले विशेष स्थान पायो । वरिष्ठ गायक हरिबहादुर खत्रीले अरुण उपत्यकाको लोकलय र भाकालाई देउसीमा समेट्दै टोलीको नेतृत्व गरेपछि विराटनगरको देउसी थप मौलिक र आकर्षक बनेको थियो ।

तिहारको अवसरमा पत्रकारहरूको टोली विराटनगरका विभिन्न व्यक्तित्व, उद्योगी–व्यवसायीका घर, सरकारी कार्यालय तथा सुरक्षा निकायका कार्यालयमा पुगेर देउसी खेलेको थियो । देउसीमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली समाजका मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्त्व उजागर गर्ने प्रयास गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले बताए ।
उनका अनुसार पत्रकारहरूको देउसीमा अरुण उपत्यकाको लोकभाकालाई समेटेर त्यसलाई आकर्षणको केन्द्र बनाउने काम वरिष्ठ गायक खत्रीले गरेका थिए । परम्परागत लोकलयमा देउसी भट्याउँदै खत्रीले उपस्थित व्यक्तिहरूलाई भरपूर मनोरञ्जन दिलाए ।

आधुनिक गीतसंगीत र नयाँ शैलीको प्रभावले मौलिक देउसीको पहिचान ओझेलमा पर्दै गएको अवस्थामा खत्रीले आफ्नो क्षेत्रको लोकभाका र गायन परम्परालाई देउसीसँग जोडेर सांस्कृतिक पहिचान संरक्षणको सन्देश दिएका थिए ।
अरुण उपत्यकाको लोकभाका मनोरञ्जनको माध्यम मात्र नभई त्यस क्षेत्रको जीवनशैली, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक सम्पदा हो । त्यही सम्पदालाई विराटनगरका पत्रकारहरूको सामूहिक देउसीमा समेटिनुले एउटा भूगोलको लोकसंस्कृतिलाई अर्को भूगोलमा चिनाउने अवसरसमेत प्रदान गरेको छ । खत्रीको गायन र भट्याइले देउसीलाई परम्परागत स्वाद दिनुका साथै नयाँ पुस्तालाई मौलिक लोकलयसँग परिचित गराएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेको पत्रकारहरूको टोलीलाई प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका थिए । तिहारले दाजुभाइ, दिदीबहिनी तथा परिवारका सदस्यबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सामाजिक सम्बन्ध र आत्मीयतालाई पनि बलियो बनाउने उनले बताए ।
जिल्लामा कार्यरत आफूहरू पनि एउटै पवित्र सम्बन्ध र भावनाले बाँधिएर काम गरिरहेको उल्लेख गर्दै कटेलले पत्रकार, प्रशासन र सुरक्षा निकायबीचको सम्बन्धलाई पारिवारिक आत्मीयतासँग तुलना गरे । व्यक्तिगत हितसँगै मुलुकको भलोका लागि पनि सबैले कामना गर्नुपर्ने उनको भनाइ थियो ।
तिहारले सबैको जीवनमा खुसी, सुरक्षा र उज्यालो ल्याओस् भन्दै प्रजिअ कटेलले सबैका मनोकामना पूरा होऊन्, यमराजको भय नहोस् र सबै दीर्घजीवी भएर मुलुक तथा नागरिकको सेवामा समर्पित हुन सकून् भन्ने कामना गरे । ‘अरूको सेवा गर्ने सबैभन्दा ठूलो माध्यम स्वयंको जागरण हो । व्यक्तिमा चेतना जागृत भएपछि मात्र सामूहिक चेतना विकास हुन सक्छ,’ कटेलले भने ।

व्यक्तिले आफूभित्र चेतना र जागरुकता विकास गर्दै सकारात्मक सोचका साथ अघि बढ्न सके समाजमा पनि सामूहिक जागरण ल्याउन सकिने उनको धारणा थियो । पत्रकारहरूले पनि आफ्नो व्यक्तित्व र क्षमतालाई थप निखार्दै समाज र राष्ट्रको हितमा काम गर्न सकून् भन्ने उनले शुभकामना दिए ।
पत्रकारहरूको देउसी हेर्न कटेलका वृद्ध बुवाआमासमेत उपस्थित थिए । प्रजिअ कटेलसहित उनका परिवारका सदस्य, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । परिवारका ज्येष्ठ सदस्यसमेत देउसीमा सहभागी भएर रमाइलो गर्दा चाडपर्वले पुस्ताबीचको सम्बन्ध र आत्मीयता जोड्ने सन्देश दिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पनि पत्रकारहरूले संस्कार र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले आफ्नो घरमा पुगेको पत्रकारहरूको देउसी टोलीलाई स्वागत गर्दै देउसी–भैलो नेपाली समाजको मौलिक परम्परा, सामाजिक एकता र आपसी सद्भावको प्रतीक भएको बताए ।

तिहारलाई टीका, माला र मनोरञ्जनमा मात्र सीमित नगरी यससँग जोडिएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । नयाँ पुस्तालाई पुर्खाबाट हस्तान्तरण हुँदै आएका संस्कार र परम्पराबारे बुझाउन सामूहिक देउसीजस्ता गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने राउतले बताए । पत्रकारहरूले समाचार र लेखमार्फत मात्र नभई व्यवहारमै संस्कृति संरक्षणको अभियानमा सहभागी हुनु सकारात्मक भएको उनको धारणा थियो ।
त्यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङको रंगेली नगरपालिकाका पूर्वमेयर दिलिप बगडिया पत्रकारहरूको टोली आफ्नो घरमा देउसी खेल्न आउने जानकारी पाएपछि पर्खिएर बसेका थिए । उनले पत्रकारहरूको सामूहिक देउसीको प्रशंसा गर्दै टोलीलाई स्वागत गरे । आफू नियमित रूपमा राजनीति र समाजसेवामा सक्रिय रहेको उल्लेख गर्दै उनले सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि आफ्नो चासो रहेको बताए ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारहरूले सामूहिक रूपमा देउसी खेल्नु मनोरञ्जनका लागि मात्र नभई संस्कार, संस्कृति र परम्पराको संरक्षणप्रतिको सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रयास भएको बताए । उनका अनुसार पत्रकारिताको दायित्व समाचार संकलन, सूचना प्रवाह र घटनाको विश्लेषणमा मात्र सीमित हुँदैन । समाजका मौलिक मूल्य, मान्यता, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्धनमा पनि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । समाजमा के भइरहेको छ भन्ने जानकारी गराउने पत्रकारहरूले समाजको पहिचान बोकेका सांस्कृतिक अभ्यासलाई पनि जीवन्त राख्न अग्रसर हुनुपर्ने विष्टको भनाइ छ ।
‘हामीले समाचारमार्फत संस्कृति र परम्पराको महत्त्वका बारेमा लेख्ने मात्र होइन, व्यवहारमै त्यसको संरक्षणमा सहभागी हुनुपर्छ । हाम्रा चाडपर्व र परम्परामा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका ज्ञान, अनुभव र सामाजिक सम्बन्ध जोडिएका छन् । ती परम्परा हराउँदै गए हाम्रो सांस्कृतिक पहिचान पनि कमजोर हुँदै जान्छ,’ विष्टले भने ।

देउसी–भैलोजस्ता परम्परालाई देखावटी र औपचारिकतामा सीमित हुन नदिन मौलिक शैली र अभ्यासलाई निरन्तरता दिनुपर्ने उनले बताए । नयाँ पुस्ताले आफ्ना संस्कार र संस्कृति पुस्तक तथा समाचारमा पढेर मात्र नभई व्यवहारमै सहभागी भएर सिक्ने अवसर पाउनुपर्ने उनको धारणा थियो । पत्रकारहरूले आफैँ परम्परागत देउसी खेल्दा समाजमा सकारात्मक सन्देश जाने र सांस्कृतिक पुस्तान्तरणमा सहयोग पुग्ने उनले बताए ।
नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार सामूहिक देउसीले पत्रकारहरूबीचको एकता र आपसी सम्बन्ध बलियो बनाउनुका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, उद्योगी–व्यवसायी, प्रशासन र सुरक्षा निकायसँगको सम्बन्धलाई पनि आत्मीय बनाउँछ । चाडपर्वका यस्ता गतिविधिले समाजमा सद्भाव, सहकार्य र सहअस्तित्वको भावना विकास गर्न सहयोग पुर्याउने उनले बताए ।
विराटनगरका पत्रकारहरूले खेलेको यस वर्षको देउसीले तिहारको सांस्कृतिक महत्त्वलाई पुनः स्मरण गराउनुका साथै पत्रकारिता सामाजिक र सांस्कृतिक उत्तरदायित्वसँग पनि जोडिएको सन्देश दिएको प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष सुमन पुरीले बताए । वरिष्ठ गायक खत्रीले अरुण उपत्यकाको मौलिक लोकभाकालाई केन्द्रमा राखेर दिएको सांगीतिक प्रस्तुतिले देउसीलाई थप विशिष्ट बनाएको उनको भनाइ छ । लोकसंस्कृति र मौलिक परम्पराको संरक्षण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने पुरीले बताए ।

गायक खत्री मुख्य आकर्षण रहेको देउसीमा मुलुकी खबरका सम्पादक किशोर बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्ट, महासंघ मोरङका सचिव नेत्र पी अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केरा, चौतारीका कोशी प्रदेश अध्यक्ष सुमन पुरी, महासचिव बाबुराम भण्डारी, सचिव रविन कट्टेल, चौतारी मोरङका उपाध्यक्ष सशांक पौडेल, विराटनगर महानगर अध्यक्ष निशान्त ढुंगाना, अग्रज पत्रकारहरु मनोज दाहाल, पुष्पराज थपलिया, युवा व्यवसायी बालकृष्ण दाहाल, सामाजिक अभियन्ता विष्णु अधिकारी लगायत सहभागी थिए ।


































