
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आइतबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घरमै बसिरहेका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर खाँदबारी–४ मा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ रहेका छन् । साँझ करिब ६ः३० बजे परेको चट्याङ लागेर उनीहरू घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ भने सबिनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ।
घटनालगत्तै दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल संखुवासभा, खाँदबारी पुर्याइएको थियो। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको टोलीले घटनास्थल पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

























