प्रतीकात्मक तस्बिरविराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलमा ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा एक महिला गम्भीर घाइते भएकी छन् । आगलागीमा परी स्थानीय ७४ वर्षीय राधाश्याम पौडेलकी ३० वर्षीया छोरी सुरक्षा भट्टराई घाइते भएकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ः३० बजे पौडेलको दुईतले पक्की घरको भुइँतलामा रहेको भान्छाकोठामा राखिएको ग्यास सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट बाहिर निस्कने क्रममा सुरक्षाको अनुहारसहित शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी इटहराको टोली, स्थानीयवासी र रतुवामाई नगरपालिकाको दमकलको सहयोगमा आगलागी साँझ ५ः०५ बजेतिर पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घाइते भट्टराईलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल पठाइएको थियो । राति करिब ९ः४२ बजेतिर थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट भान्छाकोठामा रहेका भाँडाकुँडा, फर्निचर, अन्नपात, लत्ताकपडा, एक थान फ्रिज, एक थान दराज र एक थान टेलिभिजन जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट करिब १ लाख १५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। घटनामा अन्य चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ।

























