
विराटनगर । सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्रीसहित ६ जना घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ का सन्जुकुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई अस्पताल पुर्याइए पनि साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार रहेका छन्।
त्यसैगरी मोटरसाइकलमा पछाडि सवार दुहबी–३ का २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























