भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १२:१७

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १६ जना सवार रहेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने अन्य आठ जनाको पहिचान खुल्न बाँकी छ।

पहिचान खुलेका मृतकमा माइक्रोबस चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन्।

दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, दुर्घटनास्थलनजिकैको झाडीमा थप एक बालक घाइते अवस्थामा फेला परेपछि घाइते हुनेको संख्या छ पुगेको छ। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ती बालकलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि नै पाँच जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

बिहीबार बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार तीव्र रूपमा सडकबाट तल खसेको गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.