
एजेन्सी । यमनको राजधानी सानामा रहेका ग्यास केन्द्र र सरकारी तेल कम्पनीको भवनलाई लक्षित गरी मंगलबार हवाई आक्रमण भएको छ। आक्रमणको आरोप हुथी विद्रोहीले साउदी अरबमाथि लगाएका छन्। आक्रमणपछि ग्यास केन्द्रमा भीषण आगलागी भएको छ भने आसपासका घर तथा पसलहरूमा समेत क्षति पुगेको छ।
हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनका अनुसार सानाको उत्तरी क्षेत्र बानी अल–हारिस जिल्लास्थित अल–मफजार ग्यास स्टेसनलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो। आक्रमणपछि ग्यास बोकेका केही ट्यांकरमा आगो लागेको र आगो नियन्त्रणका लागि दमकल तथा नागरिक सुरक्षा टोली परिचालन गरिएको जनाइएको छ।
यसैगरी, सानाको दक्षिणी क्षेत्रमा रहेको यमन पेट्रोलियम कम्पनीको भवनमा पनि लडाकु विमानबाट आक्रमण भएको टेलिभिजनले जनाएको छ। हुथी विद्रोहीको नियन्त्रणमा रहेको उक्त सरकारी कम्पनीले देशमा इन्धन वितरण तथा बजारीकरणको काम गर्दै आएको छ।
आक्रमणका कारण आसपासका बस्तीमा समेत प्रभाव परेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय बासिन्दालाई उद्धृत गर्दै विस्फोटको आवाजले आसपासका घरहरू हल्लिएको र केही घर तथा पसलमा आंशिक क्षति पुगेको जनाएको छ। ग्यास केन्द्रमा आगलागी जारी रहेपछि जोखिमबाट बच्न केही परिवार घर छाडेर सुरक्षित स्थानतर्फ गएका थिए।
घटनामा भएको भौतिक क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। मानवीय क्षतिबारे पनि अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। यता, साउदी अधिकारीहरूले भने आक्रमणबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
हुथी विद्रोही र साउदी अरबबीचको तनाव बढिरहेका बेला सानामा पछिल्लो आक्रमण भएको हो। हुथीहरूले यसअघि पनि साउदी अरबका विमानस्थल, तेल पूर्वाधार तथा सैन्य संरचनालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गर्दै आएका छन्। यस्ता आक्रमणको जवाफमा साउदी नेतृत्वको गठबन्धनले हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा हवाई कारबाही गर्दै आएको छ।
यमनमा जारी द्वन्द्वको सुरुवात सन् २०१४ को अन्त्यतिर भएको थियो। त्यतिबेला हुथी विद्रोहीले राजधानी साना सहित देशको उत्तरी क्षेत्रका अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धन युद्धमा सहभागी भएको थियो। त्यसयता यमन लामो समयदेखि राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वको चपेटामा रहँदै आएको छ।

























