
विराटनगर । मोरङको उर्लाबारीमा जुवाजन्य तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
उर्लाबारी नगरपालिका–४ भानुमार्गस्थित बलबहादुर मगरको घरमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरीक्षक नविन वलीको नेतृत्व टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ का ३२ वर्षीय शिव निधि, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३९ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४१ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्की रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद २२ हजार २०० रुपैयाँ र दुई बुङ तास बरामद गरेको छ। पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























