मकवानपुर ईभी दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १६:११

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा ६ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल पुर्‍याइएको छ भने थप तीन जनाको शव दुर्घटना स्थलबाट फेला परेको हो । ती तीन जनाको पहिचान खुल्न बाँकी छ।

ललितपुरको टीकाथलीबाट छठ पर्व मनाउन कुलेखानी हुँदै सर्लाही जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । बिहीबार बिहान ६ः१० बजेतिर काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका २६ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिकाकुमारी यादव, २५ वर्षीय सुबोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्रीदेवी यादव र  २७ वर्षीया पुनम यादव रहेका छन् । यस्तै, कबिलासी नगरपालिका–८ का ईभी चालक ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।

अन्य तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । रिफर हुनेमा ३० वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव रहेका छन् । उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.