क्रुज र ट्यांकर ठोक्किँदा ३२ जना घाइते, १३० यात्रुको सकुशल उद्धार

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १०:५९

एजेन्सी । अमेरिकाको लुइजियाना राज्यस्थित न्यु अर्लिन्समा मिसिसिपी नदीमा क्रुज पानीजहाज र मालवाहक ट्यांकर आपसमा ठोक्किँदा ३२ जना घाइते भएका छन् । दुर्घटनामा परेको क्रुज पानीजहाजमा सवार करिब १३० यात्रु र चालक दलका सदस्यको सकुशल उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। घाइते ३२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको अवस्था गम्भीर नरहेको बताइएको छ ।

शुक्रबार स्थानीय समयअनुसार दिउँसो करिब १ः३० बजे ‘अमेरिकन हेरिटेज’ नामक क्रुज पानीजहाजलाई ‘एटलान्टिक एस्फाल्ट’ नामक मालवाहक ट्यांकरले ठक्कर दिएको थियो। ठक्करपछि क्रुज पानीजहाज नदीमा एकातिर ढल्किएको थियो।

न्यु अर्लिन्स बन्दरगाहका अधिकारीका अनुसार दुर्घटनाका बेला पानीजहाजमा चालक दलका सदस्यसहित करिब १२९ यात्रु थिए। पानीजहाजभित्र पानी पस्न थालेपछि यात्रुहरू बाहिर निस्कन थालेका थिए। घटनालगत्तै टगबोट सञ्चालक, प्रहरी र उद्धारकर्मी परिचालन गरिएको थियो। उद्धार कार्यका क्रममा मिसिसिपी नदीमा जलयातायातसमेत बन्द गरिएको थियो।

आठदिने नदी यात्रामा रहेको उक्त क्रुज पानीजहाज लुइजियाना र मिसिसिपी राज्यका विभिन्न गन्तव्यको भ्रमण सकेर फर्कंदै थियो। सन् २०१५ मा निर्मित उक्त पानीजहाजमा अधिकतम १५० यात्रु अट्ने क्षमता रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.