सुन खानीको झडपमा १० जनाको मृत्यु

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार ११:०७

एजेन्सी । अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।

सरकारका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो । नोभेम्बर २ देखि प्रतिबन्ध कार्यान्वयन गराउन गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ ।

प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई त्यस क्षेत्रबाट निष्कासन गरेको छ । झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीयले त्यहाँ जानसमेत डर लागेको बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा शव देखिएका थिए भने पसलहरूमा तोडफोड भएको थियो । झडपमा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको बाक्लो उपस्थितिका कारण उपचारका लागि सहयोग पाउन नसकेको जनाइएको छ ।

कारबाहीपछि ठूलो संख्यामा मानिस छिमेकी मुलुक माली पुगेका छन् । माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.