युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १६:१८

एजेन्सी । युरोपेली मुलुकहरूबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता र साझा चुनौतीबारे छलफल गर्ने उद्देश्यले युरोपेली राजनीतिक समुदाय (ईपीसी) को नवौँ शिखर सम्मेलन आयरल्यान्डको राजधानी डब्लिनमा सुरु भएको छ ।

बिहीबारदेखि सुरु भएको सम्मेलनमा युरोपका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन् । डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनको सहअध्यक्षता आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गरिरहेका छन् ।

‘बलियो, सुरक्षित र जोडिएको युरोप’ नारासहित आयोजना गरिएको सम्मेलनमा युरोपको आर्थिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, नवीन प्रविधिको विकास, ऊर्जा सहकार्य र क्षेत्रीय सुरक्षा मजबुत बनाउने विषयमा छलफल भइरहेको छ ।

विशेषगरी विदेशी हस्तक्षेप तथा विभिन्न माध्यमबाट हुने अप्रत्यक्ष र मिश्रित आक्रमणबाट युरोपलाई सुरक्षित राख्ने विषय सम्मेलनको प्राथमिकतामा परेको छ । बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा युरोपेली मुलुकबीच सुरक्षा सहकार्य र सामूहिक प्रतिरक्षा क्षमता बढाउने विषयमा पनि नेताहरूले छलफल गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको अर्को प्रमुख एजेन्डा रुस–युक्रेन युद्ध बनेको छ । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासहरू पुनः अघि बढिरहेका बेला युरोपेली नेताहरूले यस विषयमा साझा धारणा निर्माण तथा आपसी समन्वयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपेली संघका सदस्य तथा गैरसदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि अतिथिका रूपमा सम्मेलनमा उपस्थित भएका छन् । उनको सहभागिताले युरोपेली संघबाहिरका मुलुकसँग राजनीतिक संवाद र सहकार्य विस्तार गर्ने मञ्चका रूपमा ईपीसीको महत्त्वलाई थप उजागर गरेको छ ।

यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव मार्क रुटेले पनि सम्मेलनका क्रममा युरोपेली नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेटोका अनुसार उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग समेत भेट गर्नेछन् । महासचिव रुटेले सम्मेलनका क्रममा सञ्चारकर्मीसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

सन् २०२२ मा स्थापना भएको युरोपेली राजनीतिक समुदाय युरोपेली संघका सदस्य तथा गैरसदस्य सबै युरोपेली मुलुकबीच राजनीतिक संवाद र सहकार्य प्रवर्द्धन गर्ने अनौपचारिक मञ्च हो । यसले क्षेत्रीय सुरक्षा, राजनीतिक स्थिरता र साझा चुनौतीको सामना गर्न युरोपेली मुलुकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखेको छ ।

डब्लिनमा जारी शिखर सम्मेलनपछि शुक्रबार युरोपेली संघका सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरूको अनौपचारिक बैठकसमेत आयोजना हुँदैछ । उक्त बैठकमा युरोपेली संघका आगामी रणनीतिक प्राथमिकता तथा साझा चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
नेप्सेमा १९ अंकको गिरावट 
लामो बिदापछि खुलेको सेयर बजारमा उत्साह देखिएन, नेप्से ६ अंकले ओरालो
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो
युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु
सरकारले दियो सार्वजनिक बिदा
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.