
एजेन्सी । युद्धविराम लागू भएको अवस्थामा पनि गाजामा इजरायली आक्रमण रोकिएको छैन । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा बिहीबार बिहान भएको आक्रमणमा एक चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ । घटनामा बिरामी र कुरुवासमेत कम्तीमा २७ जना घाइते भएका छन् ।
अलजजिराका अनुसार इजरायली सेनाले अस्पतालको शल्यचिकित्सा विभाग रहेको भवनलाई निशाना बनाएको थियो । मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि छन् । आक्रमणबाट अस्पतालको शल्यक्रिया कक्ष, बिरामीको स्वास्थ्यलाभ कक्ष र सघन उपचार कक्षमा क्षति पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले घटनामा भएको मानवीय क्षतिप्रति चिन्ता व्यक्त गर्दै अस्पतालजस्ता स्वास्थ्य संस्थाको सुरक्षा अनिवार्य रहेको बताएका छन् । उनका अनुसार सन् २०२३ अक्टोबरदेखि गाजामा स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारमाथि १ हजार ५६ वटा आक्रमण भएका छन् । ती घटनामा १ हजार १० जनाको मृत्यु र १ हजार ७२५ जना घाइते भएका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयले अस्पताल, चिकित्सक र बिरामीलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले दिएको संरक्षणको उल्लंघन भएको भन्दै घटनाको निन्दा गरेको छ । उसले संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायलाई अस्पतालको सुरक्षा र आक्रमणमा संलग्नमाथि जवाफदेहिताको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
यद्यपि इजरायली रक्षा बल (आईडीएफ)ले भने अस्पताल परिसरमा सक्रिय हमासका सैन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । सेनाले खान युनिस ब्रिगेडका वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइललाई पनि निशाना बनाइएको जनाएको छ । अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेको उसको आरोप छ ।
आक्रमणअघि नागरिक क्षति रोक्न चेतावनी दिइएको र आवश्यक सावधानी अपनाइएको इजरायली सेनाको दाबी छ । तर, डब्लुएचओले स्वास्थ्य संस्था नागरिकको जीवनरक्षाका लागि अत्यावश्यक हुने भन्दै तिनलाई सैन्य गतिविधि र आक्रमण दुवैबाट जोगाउनुपर्नेमा जोड दिएको छ ।
अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता पनि गाजामा स्वास्थ्य संस्थामाथि भएको पछिल्लो घटनाले युद्धविरामको प्रभावकारिता र नागरिक सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।



















